संस्थाका अध्यक्षको भनाइ

कास्की जिल्लाभर कार्यक्षेत्र बनाई वित्तीय सेवा प्रदान गरिरहेको यस मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा म र मेरो कार्यसमितीको टिमलाई तीन वर्षका लागि (२०७४ देखि २०७७ सम्म) निर्विरोध निर्वाचित गरी कार्य गर्ने अवसर प्रदान गर्नुभएकोमा सम्पूर्ण शेयर सदस्य तथा शुभेच्छुकप्रति हार्दिक आभार प्रकट गर्दछु । तपाईंहरूले दिनुभएको यो जिम्मेवारीलाई आत्मसात् गर्दै हाम्रो सहकारी राम्रो सहकारी भन्ने नाराअनुरूप शेयर सदस्यहरूको आर्थिक स्तर वृद्धि गर्न, सदस्यहरूले जम्मा गरेको निक्षेपलाई सुरक्षित गर्दै उच्च प्रतिफल दिने, सदस्यहरूको आय आर्जन र क्षमता वृद्धि गर्न सहज लगानीको अवसर प्रदान गर्ने योजनाका साथ अघि बढेका छौं । वर्तमान वित्तीय बजारलाई मध्यनजर गर्दै ब्याजदरमा आएको उतारचढाव, बैंक, वित्तीय संस्था तथा सहकारीमा परेका सकारात्मक तथा नकारात्मक प्रभावको सूक्ष्म अध्ययन गर्दै कुशलताका साथ सहकारीलाई नेतृत्व प्रदान गरिरहेको जानकारी गराउन चाहन्छु । सोहीअनुरूप यस सहकारी संस्थाले सहज तथा छिटो छरितो रूपमा आधुनिक वित्तीय सेवा दिँदै अगाडि बढिरहेको हुँदा तपाईंहरूको सम्पुर्ण वित्तीय कारोबार हाम्रो सहकारीमा गरी सेवा गर्ने अवसर दिनुहुनेछ भन्ने आशा लिएको छु ।
सहकारी क्षेत्रका विभिन्न चुनौती र अवसरहरूबीच यस सहकारी संस्थालाई स्थापित गराउन प्रत्यक्ष, अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण शेयर सदस्य, निक्षेपकर्ता, नियमन निकाय सहकारी विभाग, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय परिवार, बैंक तथा वित्तीय संस्था, सञ्चारमाध्यम, सञ्चालक समितिका साथीहरू, सल्लाहकारज्यूहरू, विभिन्न उपसमितिका साथीहरू र कर्मचारीहरूप्रति हार्दिक आभार प्रकट गर्दछु । अहिलेको वित्तीय अवस्था हेर्दा आगामी दिनमा अझै उच्च प्रतिस्पर्धा हुने देखिन्छ । देश संघीय संरचनामा गइसकेको छ । सहकारीको नियन्त्रण र अनुगमन प्रक्रिया पनि परिवर्तन हुने भनिरहँदा सहकारीका नियमहरू पनि परिवर्तन हुने कुरालाई सहजताका साथ लिँदै र सोको अनुसरण गर्दै हाम्रा आदरणीय शेयर सदस्यज्यूहरूलाई आधुनिक वित्तीय सेवा प्रदान गर्दै जाने प्रण गर्दै यहाँहरूको सक्रिय सहभागिता र सहकार्यबाट भविष्यमा मुनाल सहकारीलाई उत्कृष्ट सहकारीको रूपमा स्थापित गराउन सकिनेछ भन्ने मैले विश्वास लिएको छु ।
धन्यवाद, जय मुनाल सहकारी ।

दुर्गाप्रसाद हुमागाई
अध्यक्ष